काठमाडौं । मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय र विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा मूल्यवृद्धि अर्थात् मुद्रास्फीतिमा दबाब परेको छ । अर्थशास्त्रको मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु अर्थात् थोरै सामान किन्नको लागि पनि धेरै पैसाको जोहो गर्नुपर्नै अवस्था हो । तर चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति दुवै बढ्दै जाँदा मुद्रास्फीति गत आवको सोही अवधिको तुलनामा नियन्त्रणमा देखिएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३को पाँच महिना अर्थात् मंसिरसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०८२ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो । चालू आवको पछिल्लो पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव शून्य पाँच प्रतिशतले ऋणात्मक देखिँदा गैरखाद्य तथा सेवा मुद्रास्फीति मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः नौ दशमलव ९९ प्रतिशत र तीन दशमलव ९२ प्रतिशत रहेको थियो ।
प्रतिवेदनअनुसार चालू आव २०८२/८३को पाँच महिनाको औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८९ प्रतिशत रहेको थियो । चालू आवको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक पाँच दशमलव ५२ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ४४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक आठ दशमलव ५४ प्रतिशत, मरमसलाको आठ दशमलव ४३ प्रतिशत र दाल तथा गेडागुडीको पाँच दशमलव ७९ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८ दशमलव पाँच ५६ प्रतिशत, शिक्षाको सात दशमलव ५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थको चार दशमलव १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव शून्य नौ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव ८३ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा भने चालू आवको पाँच महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशत, मधेश प्रदेशको दुई दशमलव शून्य एक प्रतिशत, बागमती प्रदेशको एक दशमलव ४८ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव शून्य आठ प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव ६७ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव शून्य नौ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ४० प्रतिशत रहेको छ । चालू आवको पाँच महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ९५ प्रतिशत, तराईको एक दशमलव ७१ प्रतिशत, पहाडको एक दशमलव ३६ प्रतिशत र हिमालको एक दशमलव ४७ प्रतिशत रहेको छ ।
चालू आवको पाँच महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति शून्य दशमलव ४१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः चार दशमलव २७ प्रतिशत र दुई दशमलव शून्य नौ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक चार दशमलव ५२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
पाँच महिनामा भित्रियो आठ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौं । मुलुकले वैदेशिक रोजगारजन्य गतिविधिबाट आर्जन गर्ने रकम अर्थात् रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को पाँच महिनामा रिेमिट्यान्स ३५ दशमलव छ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स चार दशमलव सात प्रतिशतले बढेको थियो । २०८२ मंसिर महिनामा मात्र रेमिट्यान्स एक खर्ब ८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स एक खर्ब १८ अर्ब ७९ करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २९ प्रतिशतले बढेर छ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव चार प्रतिशतले बढेको थियो । चालू आवको पाँच महिनामा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर नौ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७५ हजार पाँच सय ९१ र पुन श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार नौ सय २४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९० हजार तीन सय ८४ र एक लाख ३५ हजार चार सय २५ रहेको थियो ।
चालू खाता तीन खर्ब ५८ अर्ब रुपैयाँले बचतमा
काठमाडौंं । मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा चालू खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिनामा समीक्षा खुद पुँजीगत ट्रान्सफर सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) छ अर्ब तीन करोड रहेको थियो । चालू आवको पाँच महिनामा मुुलुकको शोधनान्तर स्थिति भने चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ९८ करोडले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
३२ खर्ब नाघ्यो कुल विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्राको कुल सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव छ प्रतिशतले बढेर २०८२ मंसिर मसान्तमा ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले बढेर २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बढेर २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ मंसिर मसान्तमा २७ दशमलव चार प्रतिशतले बढेर तीन खर्ब ३५ अर्ब कायम भएको छ । २०८२ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ महिना सात दिनको लागि वस्तु आयात र १८ महिना दुई दिनको लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२ दशमलव चार प्रतिशत, एक सय ५१ दशमलव नौंं प्रतिशत र ३९ दशमलव चार प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैैंकको भनाइ छ ।