काठमाडौं । पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगप्रति समर्पित कोशी प्रदेशको इटहरी, नेपालमा अवस्थित पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । होटलले सर्वसाधारणका लागि एक सय रुपैैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।
उक्त सेयर निष्कासनका लागि होटल गरिमा लिमिटेडको तर्फबाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौँमा मिति २०८२ पौष २५ गते द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरियो ।
होटल गरिमा लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिविम्बित गर्दछ ।
सोल्टी होटल एन्ड रिसोट समूहबाट व्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठवटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने सातवटा स्टुडियो रुम छन् । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाइ’ ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेस्टुरेन्ट क्याफे लाउन्जलगायत विभिन्न सुविधा छन् ।