काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सामान ढुवानी व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारणमा मुख्यमन्त्री बानियाँले ढुवानी व्यवसायलाई प्रवाभकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताए । ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नुपर्ने भएकोले यस क्षेत्रको सुधार आवश्यक रहेको उनको भनाइ छ । साथै बाँनियाले जेन–जी आन्दोलनमा पूर्णरुपमा ध्वस्त भएका सवारीसाधनहरूको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको समेत जानकारी दिए । उनले भने, ‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रभावकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नुपरेको छ । दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुँदा हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ । त्यस कारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो । यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ ।’
संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड रहेको बताए । संघले देशको दुर्गम तथा ग्रामीण क्षेत्रसहित विभिन्न ठाउँमा ग्राहकहरूलाई समयमा समाग्री ढुवाउने गर्ने गरेको जानकारी दिए । उनले सामान ओसारपोसार गर्ने क्रममा ढुवानी व्यवसायीहरूले अनावश्यक दुःख भोग्नुपरेको बताउँदै सरकारलाई स्पष्ट एकीकृत ढुवानी ऐन कार्यविधि सुनिश्चित गर्न समेत आग्रह गरे । वागमति प्रदेश सांसद उद्वव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारीलगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउँदै लानुपर्नेमा जोड दिएका थिए ।