काठमाडौं । बीमा कम्पनीहरूले बैंक ब्याजदर घट्दा समेत निक्षेप राख्न रोकेका छैनन् । सस्तो ब्याजदरले आम्दानीमा असर पर्ने देख्दादेख्दै लगानीयोग्य रकम बैंकमा थुपारिरहेका छन् । उनीहरूले जोखिमको बहाना देखाएर अन्य क्षेत्रमा लगानी गर्नभन्दा निक्षेप राखेरै बैंकबाट ब्याज आम्दानी गर्न लालायित देखिएका हुन् ।
नेपाल बीमा प्राधिकरणले २०८० पुसमा जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानीका लागि सीमा तोकेर बाटो खोलिदिएको थियो । तर कम्पनीहरू भने यसमा अनिच्छुक देखिएका छन् । उक्त सीमाभन्दा बाहिर गएर निक्षेप केन्द्रित देखिएका जीवन बीमकहरू बैंकहरूको औसत आधारदर सस्तिँदा समेत निक्षेपमै उत्सुक देखिएका छन् । यद्यपि उनीहरूले ब्याज घटेपछि लगानी विविधीकरणमा सक्रिय हुनुपथ्र्यो ।
अहिले पछिल्लो एक दशकयताकै सस्तो ब्याज छ । राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरूको औसत आधारदर ५.३८ प्रतिशत मात्रै छ । यो पछिल्लो १० वर्षयताकै कम हो । पहिलेदेखि नै बैंकमा रकम राखेर ब्याज खान पल्किएका कम्पनीहरूलाई अहिलेको सस्तो ब्याज आम्दानी घटाइरहेको छ । तर उनीहरूले लगानी स्थानान्तरण समेत गर्न सकिरहेका छैनन् । कम्पनीहरूले लगानी गर्नपुर्ने रकम सस्तो ब्याजमै बैंकमा थुपारिरहेका छन् । सोही कारण जीवन बीमा कम्पनीहरूको छ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ बैंकमै थुप्रिएको छ ।
सामान्यतया बैंकहरूको ब्याजदर दोहोरो अंकमा हुँदा कम्पनीहरूले बैंकमा गर्ने निक्षेप लगानीलाई सुरक्षित लगानीको रूपमा लिने गरे पनि अहिले अन्य क्षेत्रमा जोखिम देखेरै बैंकको ब्याज आम्दानीमै रमाएका हुन् । यी कम्पनीहरू अहिले ब्याज सस्तिएर आम्दानीमा असर पर्ने अवस्था आउँदा पनि लगानी स्थानान्तरण गर्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनामा बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूमा न्यून ब्याजदरमै १५ अर्ब २२ करोडबराबरको लगानीयोग्य रकम निक्षेपमा जम्मा गरेका छन् । योसहित बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा बीमा कम्पनीहरूलको लगानी कुल छ खर्ब ७८ अर्बमाथि पुगेको छ ।
असार मसान्तसम्म पुनर्बीमासहितका बीमा कम्पनीहरूसँग कुल आठ खर्ब ७० अर्बबराबरको लगानीयोग्य रकम थियो । यसबाट बीमा कम्पनीहरूले दुई खर्ब सात अर्ब रकम मात्रै अन्य क्षेत्रमा लगानी गरेका थिए भने बाँकी ७६ प्रतिशत रकम निक्षेपमा राखेका थिए । मंसिरसम्म कम्पनीहरूले आम्दानी घटाएर कुल लगानीको ७७ प्रतिशत रकम निक्षेपमा राखेका छन् ।
कम्पनीहरूले सहायक इन्भेस्टमेन्ट कम्पनी खोलेका त छन्, तर लगानीमा भने विविधीकरण गर्नसकेका छैनन् । ब्याज सस्तिएर तल्लो सीमामा आइपुग्दा आम्दानी गुमाउने अवस्था छ । तर लगानीलाई इन्भेस्टमेन्ट कम्पनीमार्फत विविधीकरणमा तम्सिए पनि अन्ततः कुल लगानीयोग्य रकमको ७६ प्रतिशत रकम निक्षेपमै थुप्रिन पुगेको छ ।
गत भदौमा मात्र सेयरबजारमा गर्ने लगानी सीमा पनि फराकिलो भइसकेको छ । नेपाल बीमा प्राधिकरणले लगानीसम्बन्धी नयाँ निर्देशन जारी गर्दै जीवन बीमा कोषको १५ प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि जीवन बीमा कम्पनीहरूले कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे । तर लगानी सीमावृद्धिका बाबजुद त्यसको प्रभाव देखिनसकेको छैन । बैंकहरूलाई तरलता अधिकको समस्याले निक्षेप स्वीकार गर्न गाह्रो परिरहँदा पनि ठूलो रकम बोकेर बसेको बीमा क्षेत्र बैंकमै ध्यान केन्द्रित गरिरहेको छ ।