काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पुनर्संरचनाको लागि गठित उच्चस्तरीय अध्ययन समितिले हालको सञ्चालक समिति विघटन गरी विज्ञहरूको सहभागितामा नयाँ समिति गठन गर्न सुझाव दिएको छ ।
नेप्से पुनर्संरचनाका अध्ययन गर्न बनाएको समितिले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई अध्ययन प्रतिवेदन बुझाएको हो । नेप्सेको पुर्नसंरचनाको लागि वर्तमान सञ्चालक समिति बाधक रहेको अध्ययन समितिको निष्कर्ष छ । सोही कारण मौजुदा सञ्चालक समिति विघटन गरेर विज्ञसहितको सहभागितामा नयाँ सञ्चालक समिति गठन गर्न सुझाव दिइएको हो ।
नेप्सेलाई सरकारी नियन्त्रणमुखी संस्थाबाट व्यावसायिक, प्रविधिमैत्री र प्रतिस्पर्धी संस्थामा रूपान्तरण गर्न यो आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, जनशक्ति क्षमता अभिवृद्धि, निर्णय प्रक्रिया छरितो बनाउने र संस्थागत सुशासन बलियो पार्नुपर्ने सुझाव पनि दिइएको छ । यसअघि सरकारले नेप्सेको पुनर्संरचना गर्नको लागि गत मंसिर ३ गते उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा सरकारले नेपाल स्टक एक्सचेन्जका मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रुपेश केसी र विज्ञ सदस्यको रुपमा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी र समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौलासहितको छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
सरकारले गठन गरेको सोही समितिले पेस गरेको सुझाव अन्र्तगत नेप्सेमा रहेको सरकारको सेयर स्वामित्व बिक्री गर्दा कुनै एक संस्था वा समूहलाई पाँच प्रतिशतबाट नबढ्ने गरी मात्र दिन उपयुक्त हुने, सरकारको उक्त सेयर स्वामित्वबाट १५ देखि २५ प्रतिशतसम्म रणनीतिक साझेदारलाई दिन सकिने समेतको सुझाव सरकारलाई दिएको छ । समितिले सेयर दिइने कुनै पनि स्थानीय संस्थाका हकमा पनि पाँच प्रतिशत भन्दा धेरै स्वामित्व नदिन र सेयर स्वामित्व हस्तान्तरणको लागि वाणिज्य बैंकहरुलाई पहिलो प्राथमिकता दिन सुझाव दिएको छ ।
कुल सेयर संरचनामा सरकारको ५८ दशमलव ६६ प्र्रतिशत शेयर स्वामित्व रहेको नेप्सेमा हाल नेपाल राष्ट्र बैंकको नौंं दशमलव ५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव २३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी सनराइज बैंकको पाँच प्रतिशत, प्रभु बैंकको पाँच प्रतिशत र शेयर दलाल कम्पनीहरुको शुन्य दशमलव ६० प्रतिशत सेयर स्वामित्व रहेको छ । १३ जनवरी १९९४ देखि औपचारिकरुपमा कारोबार सुरु गरेको नेप्सेको हाल चुक्ता पुँजी एक अर्ब रुपैंयाँ रहेको छ ।