विराटनगर । गत हप्ता सरकारले सुपाडी र मरिचको आयात खोलेपछि गैरभन्सार नाका भएर आयात गर्ने कारोबारीहरू सक्रिय हुन थालेका छन् । आयात खुला भएपछि केही सुपारी र मरिचका कारोबारी निकै हर्सित देखिएका छन् ।
विराटनगरमा लामो समयदेखि सुपारी र मरिचको कारोबारमा संलग्न रहेका व्यापारीहरूको कारण सरकारले मरिच र सुपारीको ट्रेडिङ्ग आयात बन्द नै गराएको थियो । तर गत हप्ता प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले उद्योगका लागि भन्दै सुपारी र मरिचको आयात खुला गरेको छ । अब अवैध बाटो प्रयोग गरेर मरिच र सुपारीको कारोबार विराटनगर बजारमा व्यापक हुने कुरामा सबै ट्रेडिङ कारोबारीको ध्यान केन्द्रित हुन पुगेको छ । विगतमा विदेशी सुपारी आयात गरी नेपाली सुपारीको पहिरन लगाएर भारत निकासी गर्दै आएका कारोबारीहरू नै अहिले पनि मरिच र सुपारीको आयात खुलेपछि व्यापार बढ्नेमा आशाबादी देखिन्छन् ।
विगतमा पनि सरकारले मरिच र सुपारीको आयात खोल्दा व्यापारीहरूले नेपालको मरिच र नेपाली सुपारी भन्दै भारत निकासी गर्ने गरेका थिए । विराटनगर भन्सारका कर्मचारीका अनुसार मरिच र सुपारीको आयात सरकारले बन्द गरेसँगै नेपाली सुपारी र मरिचको भारत निकासी नै बन्द भएको थियो । विशेष गरी तेस्रो मुलुक भियतनाम, दुवइ सिंगापुर सुपारी र मरिच आयातको लागि नेपाली व्यवसायीको उद्गम स्थलको रूपमा प्रयोग हुने गरेको कुरा व्यवसायीले नै बताएका छन् । सबै आयात गरी नेपाल ल्याइएको उक्त मरिच र सुपारी भारतबाट नै आयात हुने गरेको दाबी छ । उक्त आयातीत मरिच र सुपारीलाई नै केही व्यवसायीले नेपाली पहिरन लगाएर पुनः भारततर्फ नै निर्यात गर्ने गरेका थिए ।
भारतीय बजारमा मरिच र सुपारीको माग उच्च हुँदा नेपाली व्यापारीहरू सुपारी र मरिचको व्यापारमा संमलग्न हुने गरेको दाबी स्रोतहरूले गरेका छन् । केही समयदेखि सुपारी आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएपछि तिलमीलाएका ती कारोबारहरू अहिले पछिल्लो समय सरकारले गोलमरिच र सुपारीको आयत खोलेपछि सक्रिय भएका हुन् । विराटनगरबाट सुपारी र मरिचको ट्रेडिङ कारोबारमा संलग्न व्यवसायीहरू चर्चित ट्रेडिङ कारोबारीहरू नै रहेका छन् । उनीहरू नै पछिल्लो समय मरिच र सुपारी आयातमा सक्रिय हुने स्रोतले दाबी गरेको छ । तर केही समय अगाडि नेपाली व्यापारीहरूले तेस्रो मुलुकबाट आयात गरी ल्याएको गोलमरिच र सुपारीको भाउ भारतमा एक्कासी घटेपछि आयातका पोख्त खेलाडी कारोबारीहरू विगतमा आफूहरू सडकमै आइपुगेको बताइरहेका थिए भने अहिले तिनै कारोबारी आयात खुलेपछि हौसिएका छन् । पछिल्लो समय विराटनगरमा ट्रेडिङ्गबाट आयाती गरी कारोबार गर्दै आएका मरिच र सुपारी डनका रूपमा चित्रित व्यापारीहरू नै आ–आफ्नो धन्धा सहज बनाउन व्यस्त भएको कुरा सुपारी आयात कर्ताले बताएका छन् ।