काठमाडौँ । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेन पे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष सम्झौता गरेको छ । टेन पे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेड चीनमा बी च्याट पे (विक्सीन पे) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले बी च्याट पे माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जसअन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा (सीएनवाई) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (एनपीआर) मा रकम प्राप्त गर्नेछन् । यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रूपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।