राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नेता गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्। रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार आशिका तामाङ आगामी निर्वाचनमा धादिङ–१ बाट पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रने भएकी छन्।यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर पछिल्लो निर्णयसँगै उनले रास्वपाको उम्मेदवारका रूपमा धादिङ–१ रोजेकी हुन्। पार्टीले नयाँ अनुहार र वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने रणनीतिअन्तर्गत तामाङलाई उम्मेदवार बनाएको बताइएको छ। रास्वपाले धादिङ–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने अपेक्षा गरेको छ।