काठमाडौं । सुर्ती उद्योगले विभिन्न नाममा बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिँदै प्रभाव तथा दबाब दिँदै हस्तक्षेप गर्ने गरेको पाइएको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा, राजस्व परामर्शको नाममा र अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगहरूले गरिरहेका पाइएको हो । नेपालसहित सयवटा राष्ट्रमा गरिएको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेपसम्बन्धी अध्ययन प्रतिवेदनले नेपाल १४औँ स्थानमा रहेको पाइएको छ । विश्वमा सवैभन्दा बढी डोमिनिकन रिपब्लिक, स्वीजरल्यान्ड, अमेरिका, जर्जिया, जापान, रोमानियामा बढी हस्तक्षेप भएको पाइएको छ । ब्रुनाइ, पलाउ, बोट्सवाना, फिनल्यान्ड, इथोपियामा कममात्रै हस्तक्षेप भएको पाइएको छ । नेपालले ४४ अंक पाएको छ भने बु्रनाइले १४ र डोमिनिकन रिपब्लिकले ९८ अंक प्राप्त गरेको छ । कम अंक पाउने मुलुकमा कम मात्रै हस्तक्षेप भएको मानिन्छ । दक्षिण एसियामा माल्दिभ्स ४३ अंकका साथ आठ स्थानमा, श्रीलंका ४५ अंकका साथ १७औँ स्थानमा, पाकिस्तान ५४ अंकका साथ ३३ स्थानमा, भारत ५९ अंकका साथ ४८औँ स्थानमा, बंगलादेश ६६ अंकका साथ ६९ स्थानमा रहेका छन् ।
सुर्तीको कुनै पनि प्रचारप्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था भए पनि सामाजिक उत्तरदायित्वका नाममा सुर्ती उद्योगले सुर्तीको प्रवद्र्धन र प्रचारप्रसार गरिरहेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका संयोजक शान्तलाल मुल्मीले बताए । सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका सचिव पूर्णभक्त दुवालका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका सार्वजनिक स्वास्थ्य नीतिमा सुर्ती उद्योगको हस्तक्षेप विश्वव्यापी रूपमा अझै कमजोर नपरेको तथ्य अध्ययनले उजागर गरेको जानकारी दिए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले सन् २०२३ अप्रिलदेखि २०२५ मार्चसम्मको अवधिमा विभिन्न देशमा सुर्ती उद्योगले सरकार, नीति निर्माता र सार्वजनिक संस्थामाथि पारेको प्रभावको मूल्यांकन गरेको हो ।
२०२५ को प्रतिवेदनले सुर्ती उद्योगले आफ्नो प्रभाव कायम राख्न प्रयोग गर्ने रणनीति अझै परिष्कृत र आक्रामक बन्दै गएको देखाएको छ । सुर्ती उद्योगले कर वृद्धि रोक्न, चेतावनी चित्र कमजोर बनाउन, नयाँ उत्पादनलाई नियमन बाहिर राख्न र युवालाई लक्षित अप्रत्यक्ष प्रचारलाई निरन्तरता दिन सरकारी संयन्त्रसम्म पहुँच बनाउने प्रयास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।