काठमाडौं । याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ ।
यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र (साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान गर्ने जनाईएको छ । अब याङ्गो एपले राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू एकै ठाउँमा उपलब्ध गराउँदै काठमाडौंका बासिन्दा तथा आगन्तुकहरूको दैनिक आवागमन र ढुवानी आवश्यकतालाई सरल बनाएको छ ।
यस सेवाको सुरुवातसँगै काठमाडौंका प्रयोगकर्ताहरूले अब तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन् । मोटो कुरियर, कार कुरियर र कार्गो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । सहरी जीवनशैली र साना व्यवसायहरूमा छिटो, सजिलो र भरपर्दो ढुवानीको आवश्यकता बढ्दै गएको सन्दर्भमा, यी नयाँ इन–एप विकल्पहरूले व्यक्ति–व्यक्ति ढुवानी गर्ने प्रयोगकर्ताहरू र शहरभरि सामान सार्न चाहने साना तथा मध्यम व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्य राख्छ । ‘हाम्रो लक्ष्य काठमाडौंमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझै सहज बनाउनु हो, त्यसका लागि प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार विभिन्न डेलिभरी विकल्पहरू रोज्न सकून् भन्ने सोच राखेका छौँ,’ याङ्गो डेलिभरीका दक्षिण एसियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले भने ।
कम्पनीका अनुसार यो डेलिभरी सुविधा दैनिक प्रयोगका विविध अवस्थाहरूलाई ध्यानमा राखेर तयार गरिएको हो । याङ्गो डेलिभरीले रुटिङ र ब्याचिङ एल्गोरिदम प्रयोग गरी ढुवानी प्रक्रिया सुरु गरेको छ । यस प्रविधिले सवारी साधनको अधिकतम उपयोग सुनिश्चित गर्दै ट्राफिक अवस्थाको बाबजुद पनि समयमा डेलिभरी हुने दर सुधार गर्ने जनाइएको छ । याङ्गो डेलिभरीमार्फत पठाइएका सबै प्याकेजहरू लाइभ–ट्रयाकिङ टुलमार्फत ट्रयाक गर्न सकिन्छ, जसले सेवा साझेदार कुरियर र उपभोक्ता दुवैका लागि पारदर्शिता सुनिश्चित गर्छ ।
याङ्गो ग्रुपले मे २०२५ मा ‘याङ्गो’ नामक सिटी सर्भिसेस एप सुरु गर्दै नेपाली बजारमा प्रवेश गरेको हो । काठमाडौंमा परीक्षण चरणका क्रममा राइड–हेलिङ सेवा एपभित्र उपलब्ध पहिलो सेवा बनेको थियो । अहिले याङ्गो एपले राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू एकै प्लेटफर्ममा उपलब्ध गराउँदै काठमाडौंका बासिन्दा र आगन्तुकहरूको दैनिक आवागमन तथा ढुवानी आवश्यकतालाई सरल बनाएको छ ।