विराटनगर । विभिन्न आन्दोलनका नाममा निजी क्षेत्रमाथी हुुने तोडफोड र आगजनीले लगानीमा ठूलो असर पार्ने उद्योगि व्यवसायीहरूले चिन्ता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘निजी क्षेत्र प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रमाथीको आक्रमणलाई निरुत्साहित गर्नुपर्ने बताए । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हरेक आन्दोलनमा निजी क्षेत्रका उद्योग एवं व्यापारिक केन्द्रहरूमा नियोजित रूपमा तोडफोड र आगजनीको शिकार बन्ने गरेको बताए । उद्योगीहरू आफ्नै देशमा लगानी गर्न डराउनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत निजी क्षेत्रविरुद्ध फैलाइने मिथ्या, भ्रामक र उत्तेजक सूचनाले ‘लगानी गर्नु पाप हो कि’, ‘नाफा कमाउनु अपराध हो कि’ भन्ने भाष्य निर्माण हुँदै गएको बताए । ‘यस्तो सोच समाजमा गहिरिँदै गए, नेपालमै रोजगारी सिर्जना गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने निजी क्षेत्रको सपना कसरी साकार हुन्छ ?’, उनको प्रश्न छ ।
राष्ट्रिय व्यवसायीक पहलका अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्र आजका दिनमा गहिरो पीडा, त्रास र अनिश्चितताको भुमरीमा फसेको बताए । उनले पनि राज्यको कानुन र नीतिको पालना गरी कर तिरेर आर्थिक विकासमा योगदान दिँदा पनि समाजको दृष्टिकोण यस क्षेत्रप्रति अझै सकारात्मक बन्न नसकेको भन्दै चिन्ता ब्यक्त गरे । निजी क्षेत्रविरुद्ध फैलिँदै गएको नकारात्मक भाष्यले उद्योग÷व्यवसायमैत्री वातावरण दिन प्रतिदिन कमजोर बनाउँदै लगेको उनको भनाइ छ । त्यसैगरी उद्योगी किशोर प्रधानले उद्योग र व्यापार कुनै वर्ग, व्यक्ति वा समूहको नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको बताए । लाखौँ नेपालीलाई रोजगारी दिने, राज्यलाई कर र राजस्वमार्फत आर्थिक सशक्तता प्रदान गर्ने, पुँजी निर्माण र लगानीमार्फत विकासको ढोका खोल्ने क्षेत्र यही भएकाले यस क्षेत्रको अमूल्य योगदानलाई सबैले अन्तरात्माबाट समीक्षा गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्र अत्यन्त मेहनती, परिश्रमी तथा जोखिम लिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको पछिल्लो समय गिरेको मनोबल उकास्न सरकारसहित सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताए । निजी क्षेत्रले राज्यको आर्थिक नीतिमा स्थिरता खोज्नु अत्यावश्यक रहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले हरेक कालखण्डमा राज्यप्रति निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । यस क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिएकी थिइन् । संवादका माध्यमबाट समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याई सत्य उजागर गर्दै गलत धारणाहरूलाई चिर्दै आपसी विश्वास पुनःस्थापित गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले राज्यमा विद्यमान कानुनहरू सहज र निष्पक्ष रूपमा कार्यान्वयन हुने, राज्य सञ्चालन व्यक्ति वा दलबाट नभई पद्धति र विधिमा आधारित हुने अवस्था सिर्जना भएमा निजी क्षेत्रले कुनै दल वा राजनीतिक शक्तिको छाया खोज्न नपर्ने बताए । साथै उनले अबका दिनमा राजनीतिक दलहरूले निजी क्षेत्रलाई निष्पक्ष, सुरक्षित र भरोसायोग्य वातावरण प्रदान गर्न प्रतिबद्धता जनाउन अत्यावश्यक रहेको कुरामा विशेष जोड दिएका थिए ।