काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालले सहकारी अभियानका देखिएका कमी कमजोरी सुधार गर्न तयार रहेको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को नवनिर्वाचित कार्यसमिति संघ सोमबार भएको छलफलमा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षसँग छलफल गर्ने बताए । सहकारी अभियानमा देखिएका कमी कमजोरी सुधार गरेर स्वच्छ र पारदर्शी बनाउन सीजेएनले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए । अध्यक्ष ढकालले सहकारी अभियानको विषयमा उत्पन्न भएको नकारात्मक धारणालाई न्यूनिकरण गर्ने कार्यमा सीजेएनबाट सहयोगको अपेक्षा राखेको बताए । नेफ्स्कुनका संचालक खेमराज सुवेदीले अहिले तरल अवस्थामा रहेको सहकारी क्षेत्रलाई मिडियाले प्रकाशन प्रसारण गर्ने समाचारले ठूलो प्रभाव पार्नसक्ने राख्ने धारणा राखे ।
नेफ्स्कुनकी संचालक मन्दरा मिश्रले राज्यले जारी गरेका सहकारीसम्बन्धी ऐन कानुनहरू एक आपसमा बाझिनुका साथै तिनमा केही विरोधाभाषसमेत रहेकाले सहकारी क्षेत्रमा समस्या रहेको बताइन् । उनले सहकारीमा दोहोरो संचालक पदमा बस्न नपाउने व्यवस्थाले गर्दा मुलुकभरिका सहकारीमा अनुभवी नेतृत्वको खडेरी पर्ने अवस्था उत्पन्न भएको गुनासो गरिन् । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल धादिङमा गएर सहकारी संस्थाको अध्यक्ष बन्नुपर्ने अवस्था आयो । दोहोरो पदमा संचालक बसेकाले सहकारीमा समस्या उत्पन्न नभएको तर्क गर्दै उनले भनिन्, ‘बरु एक वा दुई कार्यकालभन्दा बढी बस्न नपाउने भनेर सीमा तोकेर जाऊँ ।’