काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार नौ सय ३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ । उक्त सेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर चार सय रुपैयाँ तोकिएको छ भने न्यूनतम एक लाख कित्ता आवेदन दिनुपर्ने छ ।
कम्पनीका अनुसार लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुन अनुसार बिक्री प्रबन्धकमा निहित रहने कम्पनीले जनाएको छ ।