काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाका आर्थिक सूचकहरूको अवस्था सार्वजनिक गरेको छ । यसअनुसार साउनदेखि पुससम्म खासगरी बाह्य अर्थतन्त्रका समग्र सूचकहरू राम्रा देखिएका छन् । आन्तरिक अर्थतन्त्रमा भने अझै सुधारको खाँचो देखिएको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । जुन राम्रो भए पनि उल्लेखनीयरूपमा कर्जा परिचालन हुन नसकेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार बाह्य अर्थतन्त्र भने बलियो अवस्थामा छ । ६ महिनामा देशको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । ६ महिनामा सरकारको चालू खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशतले र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पुस महिनाको विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहेको छ ।
यो अवधिमा निर्यात ४३.८ प्रतिशतले र आयात १४.२ प्रतिशतले बढेको छ भने नेपाल सरकारको खर्च छ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन पाँच खर्ब ७७ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।
१० खर्ब ६२ अर्ब रेमिट्यान्स
आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । पुसमा विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक सय २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख छ हजार आठ सय सात र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार सात सय ३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३० हजार चार सय ३९ र एक लाख ६२ हजार छ सय २८ रहेको थियो ।
चालू खाता र शोधनान्तर बचतमा
सरकारको चालू खाता चार खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २३ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा तीन अर्ब तीन करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार अर्ब २९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा आठ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) छ अर्ब ४८ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति पाँच खर्ब एक१ अर्ब २४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब ५४ करोडले बचतमा रहेको छ ।
३२ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
चालू आवको पहिलो ६ महिनामा नेपालले विदेशी मुद्रा सञ्चिति बढाएको छ । राष्ट्र बैंकका अनुसार असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढेर पुससम्म ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब आठ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई तीन खर्ब ५८ अर्ब ३७ करोड कायम भएको छ । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तताअनुसार आर्थिक वर्ष २०८२÷८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।