म्याग्दी, अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पारेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिए ।बुधबार बेनीमा आएका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिए । ‘नयाँ पुराना सबै राजनीतिक दलहरूले सौहार्द र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने वातावरण बनाएर सफल बनाउने सरकारको अहिलेको प्रमुख दायित्व हो’, अर्थमन्त्री खनालले भने, ‘स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैन भन्ने विश्वास दिलाउँछु ।’
उनले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशील बन्न आग्रह गरे । भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावका लागि चुनौतीका रूपमा लिएर त्यसको सामना गर्ने रणनीति बनाएको बताए । मौसमका कारणले फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने बताउँदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पारे ।मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलगायत सुरक्षा अधिकारीसँग चुनावको तयारीका विषयमा जानकारी लिए । हालसम्म शान्ति र सौहार्दपूर्ण रूपमा चुनावको तयारी अघि बढेको उनीहरूले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले अस्थायी मतदाता र चुनावमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जानकारी दिए । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको छ । म्याग्दीमा ११ जना दल र एक जना स्वतन्त्र उम्मेदवार छन् । ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र एक सय २० मतदान केन्द्र छन् ।
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
काठमाडौं, माघ २१ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार खाता खोलेर कारोबार गर्न आह्वान गरेको छ ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा आयोगको मङ्गलबारको बैठकबाट कार्यविधि स्वीकृत भई जारी गरेकाले त्यसअनुसार बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्न आह्वान गरेका हुन् ।
कार्यविधि आयोगको वेबसाइटमा अपलोड गरिसकिएको छ । यसका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी सकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारलाई आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्न आयोगले ध्यानाकर्षण गराएको हो । राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको पनि आयोगले जनाएको छ । यसैअनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट कार्यसम्पादन गर्न पनि निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग आबद्ध गर्नेगरी सु–संस्कृत व्यवहारको थालनी भएकाले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा पनि आयोगले गरेको विज्ञप्तिमा उल्लेख छ ।