सीमा सुरक्षा सम्बन्धी नेपाल–भारत डिआइजीस्तरीय बैठक चलिरहेका बेला सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचानक अचेत भएर ढलेका छन्। घटना शुक्रबार दिउँसो मोरङको विराटचोकमा भएको हो।सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरे बैठककै क्रममा अचानक लडेपछि तत्काल उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज लगिएको थियो। उच्च रक्तचापका कारण अचेत भएका क्रममा उनको जिब्रोसमेत काटिएको बताइएको छ। अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको छ। चिकित्सकले उनको अवस्था ‘क्रिटिकल’ रहेको जनाएका छन्।सशस्त्र प्रहरी बल नं। १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले बैठककै क्रममा घिमिरे ढलेपछि तुरुन्तै अस्पताल भर्ना गरिएको जानकारी दिए।‘बैठक चलिरहेकै बेला उहाँ अचानक ढल्नुभयो,’ उनले भने, ‘अवस्था अलि गम्भीर रहेको जानकारी पाएका छौँ।’ एसपी घिमिरेको हालै मोरङबाट मकवानपुरस्थित नम्बर ३ बाहिनी गढीमाई मुख्यालयमा सरुवा भएको थियो। उनी मोरङबाट भोलि बिदा भएर जाने तयारीमा रहेको बताइएको छ।