काठमाडौं । ललितपुरको लगनखेलस्थित साझा भवनमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था लि.विरुद्ध काठमाडौं जिल्ला अदालतले ‘स्टेटमेन्ट’ झिकाउने आदेश दिएको छ ।सहकारीबाट लिएको ऋण तिरिसकेपछि पनि धितो फुकुवा गर्न अटेर गरेको भन्दै सहकारीविरुद्ध मुद्दा परेको हो । सहकारीविरुद्ध काठमाडौंको शंखरापुर नगरपालिका ६ का बानेश्वर निवासी रामेश्वरी नापितका वारेस गोपाल राईले हरहिसाब गरिपाउन काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए । जिल्ला अदालत काठमाडौंले गत पुस १ गते आदेश जारी गर्दै सहकारी संस्थाबाट ऋण लिएको लिखत र वादीले हालसम्म तिरे÷बुझाएको र अब तिर्न÷बुझाउन बाँकी रहेको रकमको विवरण देखिने स्टेटमेन्ट सहकारी संस्थाबाट झिकाउन आदेश दिएको हो ।
सहकारीका ऋणी रामेश्वरी नापितले २०६९ असोज २३ गते काठमाडौं जिल्ला साल्खा (हाल शंखरापुर नगरपालिका ६)को वार्ड नं. ७÷क को कित्ता नं.८० रहेको जग्गा धितो राखेर सहकारीबाट लिएको दश लाख ऋणको पटक–पटक गरेर ४० लाखभन्दा बढी बुझाएको पाइएको छ । ४० लाख बुझाएपछि कित्ता नं. ८० को जग्गा फुकुवा गरे पनि ऋणीलाई जानकारी नै नदिई सोही पुर्जामा रहेका ९२, ९३ र ९४ नम्बरको कित्ता मालपोत कार्यालयलाई पत्र पठाउँदैै गैरकानुनी रोक्का गरेकोले आफूले बुझाएको पैसाको हरहिसाब गरेर मिटरब्याजीजसरी लिएको पैसासहित अन्य कित्ताहरू पनि फुकुवा गराई पाऊँ भन्दै परेको मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो ।
ऋणीका अनुसार बलराम पाठक नेतृत्वको गतिशील सहकारीले सुरुमा ऋण दिँदा समेत ठेक्का पट्टा गर्ने विचौलिया सिन्धुपाल्चोक घर भई हाल बूढानीलकण्ठ नगरपालिका १० घटराजचोक बस्दै आएका कांग्रेस निकट बताउने मनोज सिग्देलमार्फत एक लाख सेवाशुल्क र चार लाख सिग्देलले नै आफूखुशी चलाएर १० लाखको ल्याप्चे लगाई पाँच लाख मात्र दिएको थियो । ८० नम्बर कित्ताको जग्गा धितो राखेर निकालिएको ऋणमा पछि मालपोतसँगको मिलेमतोमा सहकारीले अन्य कित्ताहरू समेत रोक्का राखेर दुःख दिएपछि घर छोडेर डेरामा बस्न बाध्य पारेपछि ऋणी अदालत गएका थिए । मिटरब्याजभन्दा पनि चर्को ब्याज असुलेको, पटक–पटक जग्गा फुकुवा गर्न माग गर्दा समेत अझै पैसा तिर्नुपर्छ भनेर धाकधम्की दिएको तथा ऋण लिँदाको बखत राखेको धितोभन्दा बढी धितो रोक्का राखेपछि के आधारमा राखेको भनेर सोध्दा समेत कुनै तमसुकलगायत कुनै पनि कागजपत्रहरू नदिएको ऋणीले बताउँदै आएका छन् ।