काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई आग्रह गरेकी छिन् ।आइतबारदेखि देशभर सुरु भएको एचपीभी खोप अभियानको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिँदै मन्त्री गौतमले खोप लगाउन आग्रह गरेकी हुन् । उनले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान भए उपचारबाट निको हुन सक्ने बताइन् । ३० वर्षभन्दा माथिका महिलालाई नियमित रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन पनि उनले आग्रह गरेकी छिन् । ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको सङ्क्रमण हो । यो भाइरसविरुद्धको खोपबाट क्यान्सर रोकथाम सम्भव छ,’ उनले भनिन् । नेपालमा यो क्यान्सर निवारण गर्ने उद्देश्यले सरकारले गत वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
सरकारले आगामी फागुन १५ गतेसम्म देशव्यापी रूपमा कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरेको हो । गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरीलाई पनि यसै अभियानअन्तर्गत खोप लगाइने छ । हिमाली तथा हिमपात हुने जिल्लामा भने अभियान चैत महिनामा सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य लक्षित किशोरीलाई खोप केन्द्रमार्फत खोप लगाइने व्यवस्था गरिएको छ । शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोप शतप्रतिशत प्रभावकारी रहेको बताउँदै सबैलाई खोप लगाउन आग्रह गरे ।
नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको ज्यान जाने गरेको तथ्यांक रहेको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहे पनि क्यान्सरका कारण हुने महिलाको मृत्युमा यो क्यान्सर पहिलो स्थानमा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपीभी खोप लगाइएको थियो । यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।