काठमाडौं । नेपाल हस्तकला महासंघले सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन र १५ दिने छ्वाली कला प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
महासंघले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपीको दिगो पर्यटन कार्यक्रम (एसटीपी)को साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । महासंघका अनुसार ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन र १५ दिने छ्वाली कला प्रशिक्षण आयोजना गरिएको थियो । उक्त प्रशिक्षणमा सहभाथीहरुलाई हालै एक विशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन र दिगो पर्यटन विकास परियोजनाको राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले प्रशिक्षार्थीहरुलाई प्रविधि हस्तान्तरण एवं प्रमाणपत्र वितरण गरेका थिए । सेरामिकजन्य वस्तु उत्पादन प्रशिक्षण मंसिर १ गतेदेखि २० जनाको सहभागितामा ३० दिन र छ्वाली कला सम्वन्धी प्रशिक्षण मंसिर १५ गतेदेखि १५ जनाको सहभागितामा १५ दिन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न १०, लुम्बिनी प्रदेशमा सफलतापूर्वक सञ्चालन भएको महासंघले जनाएको छ ।
नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यको सभापतित्वमा सञ्चालन भएको उक्त प्रमाणपत्र वितरण एवं प्रविधि हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नविन शाक्य, उपाध्यक्ष एवं जिल्ला तथा प्रदेश परिषद्का सभापति मलिका श्रेष्ठ, कार्यक्रमका संयोजक सुजन रत्न शाक्य, दिगो पर्यटन विकास परियोजनाका राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडी, लुम्बिनी होटल एसोसियसन नेपालका अध्यक्ष लीलामणि शर्मालगायतको सहभागिता थियो ।