त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी महिनामा करिब साढे सात लाख यात्रुले सेवा पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो एक महिनामा सात लाख ४८ हजार सात सय ९६ यात्रुले विमानस्थलबाट आवागमन गरेका हुन् । विमानस्थलबाट आन्तरिक हवाई यात्रु प्रस्थान एक लाख ६२ हजार दुई सय ३१ र आगमन एक लाख ५६ हजार तीन सय १७ गरी कुल तीन लाख १८ हजार पाँच सय ४८ आन्तरिक हवाई यात्रुले सेवा पाएका हुन् । सो महिनामा अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट दुई लाख १० हजार आठ सय ८७ यात्रु विदेश उडेका थिए भने विदेशबाट नेपालमा दुई लाख १९ हजार तीन सय ६१ आएका थिए । यसरी कुल चार लाख ३१ हजार छ सय ३५ अन्तर्राष्ट्रिय हवाई यात्रुले विमानस्थलबाट सेवा लिएका हुन् ।
आन्तरिक उडानतर्फ हेलिकोप्टरसहित २० कम्पनीले यात्रुलाई सेवा दिएको कार्यालयको तथ्यांक छ । आन्तरिकतर्फ तीन हजार चार सय तीन प्रस्थान र तीन हजार चार सय छ अवतरण भएका गरी कुल छ हजार आठ सय नौ उडान तथा अवतरण भएका थिए । त्यसैगरी अन्तर्राष्ट्रियतर्फ एक हजार चार सय ७५ प्रस्थान र एक हजार चार सय ७४ अवतरण भएको गरी कुल दुई हजार नौ सय ४९ उडान र अवतरण भएका छन् ।
कार्यालयका अनुसार आन्तरिक उडानतर्फ बुद्ध एयरले सबैभन्दा बढी अर्थात् एक लाख ७५ हजार छ सय १५ यात्रु र नेपाल एयरलाइन्सले दुई हजार एक सय ४९ जनालाई सेवा दिएको छ । आन्तरिकतर्फ एक महिनामा कुल तीन लाख १८ हजार यात्रुले त्रिभुवन विमानस्थलबाट सेवा लिएका छन् । जसमा पहिलो स्थानमा बुद्ध एयर हुँदा श्री एयरलाइन्स, यती एयरलाइन्स, नेपाल एयरलाइन्स र तारा एयर क्रमशः छन् ।
आन्तरिकतर्फ हेलिकोप्टरसहित कुल २० कम्पनीले उडान सेवा प्रदान गरेका थिए । आन्तरिकमा बुद्ध एयर पहिलो स्थानमा हुँदा अन्तर्राष्ट्रियतर्फ भने नेपाल एयरलाइन्स पहिलो स्थानमा छ । जनवरीमा नेपाल एयरलाइन्सले कुल ५४ हजार तीन सय ९८ यात्रुलाई सेवा दिएको छ । कम्पनीबाट २७ हजार तीन सय ७८ यात्रु विदेश जाँदा २७ हजार १६ जना नेपाल आएको तथ्यांकमा उल्लेख छ ।अन्तर्राष्ट्रिय उडानमा ३० हाराहारी कम्पनीले नेपालमा उडान गरिरहेका छन् । तीमध्ये दोस्रो स्थानमा रहेको एयर अरेबियाले एक महिनामा ४७ हजार पाँच सय १९ यात्रुलाई सेवा दिँदा तेस्रो स्थानमा रहेको कतार एयरवेजले जनवरीमा ४२ हजार ११ यात्रु बोकेको तथ्यांक छ । हिमालय एयरलाइन्सले एक महिनामा ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ भने बुद्ध एयरले दुई हजार आठ सय ३४ यात्रुलाई सेवा दिएको कार्यालयले जनाएको छ ।