बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा लगातार घटाएका छन् । उनीहरूले कुलमध्ये पाँच दशमलव २९ प्रतिशतका दरले हुन आउने दुई खर्ब ९१ अर्ब ७६ करोड ७० लाख रुपैयाँबराबरको कर्जा मात्रै विपन्न वर्गमा प्रवाह गरेका छन् ।चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन तथा ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विपन्न वर्गमा प्रवाहित कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् १० अर्ब १५ करोड ९० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा उनीहरूले कुलमध्ये पाँच दशमलव ९३ प्रतिशतका दरले हुन आउने तीन खर्ब एक अर्ब ९२ करोड ६० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । सो वर्ष उनीहरूले कुल ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२० वाणिज्य बैंकले चालू आवको पुस मसान्तसम्ममा ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र पाँच दशमलव २० प्रतिशतका दरले हुन आउने दुई खर्ब ५४ अर्ब १५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ५४ प्रतिशत अर्थात् चार अर्ब ४८ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ७४ प्रतिशतका दरले हुन आउने दुई खर्ब ५८ अर्ब ६३ करोड ४० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले मात्र भने चालू आवको पुस मसान्तसम्ममा कुल छ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल छ दशमलव शून्य छ प्रतिशत अर्थात् ३१ अर्ब ५१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ४१ प्रतिशत अर्थात् पाँच अर्ब ५८ करोड १० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १७ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ४७ प्रतिशतका दरले हुन आउने ३७ अर्ब नौ करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको पुस मसान्तसम्ममा कुल एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ९४ प्रतिशतका दरले हुन आउने छ अर्ब नौ करोड ९० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा दिएका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ११ प्रतिशत अर्थात् नौ करोड ८० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शून्य पाँच प्रतिशतका दरले हुन आउने छ अर्ब १९ करोड ७० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।