दाङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफूलाई संसद्बाट हटाइएको भए पनि जनताको मनबाट हटाउन नसकिने दाबी गरेका छन्।शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल लक्षित गर्दै यस्तो चुनौती दिएका हुन्। घोराही, दाङ क्षेत्र नम्बर २ अन्तर्गत पर्छ, जहाँ एमालेबाट पोखरेल उम्मेदवार रहेका छन्। सभामा लामिछानेले रास्वपा सुशासन र जनताको पक्षमा उभिने पार्टी भएको दाबी गरे। आफूहरू सरकारमा रहेर काम गरिरहेका बेला षड्यन्त्रपूर्वक संसद्बाट हटाइएको उनको आरोप थियो। “रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो,” उनले भने, “हामी सरकारमा काम गरिरहेको बेला बा (केपी शर्मा ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए। सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ।” लामिछानेले आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनबाटै जवाफ दिने दाबी गरे। “सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु,” उनले भने। उनको उक्त अभिव्यक्तिपछि घोराहीको चुनावी माहोल थप तातिएको छ। दाङ–२ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ भने रास्वपाले यस क्षेत्रलाई प्रतिष्ठाको लडाइँका रूपमा लिएको संकेत दिएको छ।