काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग सम्बन्धित सिंगापुरस्थित बैंक खाताको विवरण पेस गर्न आदेश दिएको छ। अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत सिंगापुरको United Overseas Bank Limitedमा रहेको खाताको सम्पूर्ण विवरण झिकाउन निर्देशन दिएको हो।
सरकारी उपकरण तथा सफ्टवेयर खरिद प्रक्रियामा अनियमितता गरी सिंगापुरमा घुस लिएको र उक्त रकम त्यहाँकै बैंक खातामा राखेको आरोपसहित अख्तियारले ९ वैशाख २०८१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले खातापाताको विस्तृत विवरण आवश्यक देखिएको उल्लेख गर्दै सम्बन्धित निकायलाई सक्रिय हुन भनेको हो।
नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता सम्बन्धी औपचारिक सम्झौता नभएको अवस्थालाई ध्यानमा राख्दै अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समेत स्पष्टीकरण मागेको छ। आदेशमा उल्लेख छ– विवरण प्राप्त हुन सक्ने अवस्था भए सोही विवरण यथाशीघ्र उपलब्ध गराउन र प्राप्त हुन नसक्ने भए कारणसहितको जवाफ पठाउनू।
अदालतले नेपाल राष्ट्र बैंकलाई पनि सिंगापुरको केन्द्रीय बैंकसँग समन्वय गरी युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट खाताको विवरण मगाउन निर्देशन दिएको छ।अख्तियारका अनुसार सुनिल पौडेल र अनिल पौडेलले विभिन्न सरकारी ठेक्कापट्टा प्रक्रियामा आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरूसँग मोलमोलाई गरी गैरकानुनी कमिसन लिएको आरोप छ। आरोपपत्रमा उनीहरूले विदेशी बैंकमा रकम जम्मा गरी स्वदेश तथा विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको उल्लेख गरिएको छ।
अख्तियारले नेपाल र सिंगापुरमा गरी करिब २४ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिएको दाबी गर्दै त्यसमध्ये २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरिएको जनाएको छ। विशेष अदालतको पछिल्लो आदेशसँगै विदेशी बैंक खाताको विवरण प्राप्त हुने वा नहुने विषयले अब मुद्दाको आगामी प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।