काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंका हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको हो। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनाको वैधानिकता पुष्टि हुन नसकेको निष्कर्षसहित रिहाइको आदेश दिएको हो। अदालतको आदेशसँगै प्रसाईंको थुनावास अन्त्य हुने भएको छ। यस आदेशलाई राजनीतिक तथा सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ।