दोलखा । निर्वाचन नजिकिएसँगै जिल्लाका ७४ वटै वडामा अहिले मतदाता शिक्षा प्रभावकारी बन्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता शिक्षा स्वयंसेवक खटाएर प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मतदाता शिक्षा सञ्चालन गरिरहेको जनाएको छ ।
आयोगले बदर मत घटाउन तथा मतदातालाई मतदानमा सक्रिय सहभागी गराउन फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । मतदाता शिक्षाका लागि अनुगमनकर्तासहित स्वयंसेवक पहिचान गरेको जिल्ला निर्वाचन कार्यालयले दोलखाले जनाएको छ । जिल्लाका ग्रामीण बस्तीमा यतिबेला आयोगका स्वयंसेवक तथा विभिन्न राजनीति दलका नेता कार्यकर्ता मतदाता शिक्षा दिन खटिरहेका छन् । जिल्लाका ७४ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ भने ९ वटा स्थानीयतहमा ९ जनालाई मतदाता शिक्षा अनुगमन कर्ताको रूपमा जिम्मेवारी दिएको छ । कुल १ लाख ७० हजार ३० मतदाता संख्या रहेकोे दोलखामा फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
वैतेश्वर गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा ३ हजार ३ सय ५२ जनालाई मतदाता शिक्षा दिएको मतदाता शिक्षा अनुगमन कर्ता रविन्द्र चौलागाईं जानकारी दिए । उनका अनुसार वैतेश्वरका ८ वडामा ८ जना स्वयंसेवकहरूले मतदाताको गाउँबस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराइरहेका छन् । आयोगले निर्वाचन शिक्षा प्रवर्धन गर्न आयोगको मातहतमा रहेका संघसस्था तथा निर्वाचन सूचना सम्प्रेषण भिडियोमार्फत जानकारी दिने गरिएको छ । निर्वाचनका लागि मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गर्दै निर्वाचनको स्वच्छता बढाउने, आधिकारिक र विश्वसनीय सूचना प्रवाह गर्ने तथा मिथ्या र भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने अनुगमन कर्ता चौलागाईंले बताए ।
यस्ता शिक्षा र सन्देशले मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने र आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ । मतदान प्रतिशत वृद्धि र बदर मत घटाउने अपेक्षा आयोगको रहेको छ । स्वयंसेवकहरूले मतदाताका मेलापात, गाउँ–घरमा पुगेर शिक्षा दिने गरेका छन् ।