काठमाडौं । पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ । यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आए पनि, यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्र्याउन विशेष रणनीतिक भूमिका खेल्ने जनाइएको छ । सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्षभन्दा लामो विश्वव्यापी विरासत बोकेको एक पारिवारिक खाद्य कम्पनी हो, यसले भारतमा मात्रै ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको छ । ‘नन–डेयरी ह्विप्ड टपिङ’ को उत्पादनमा विश्वमै अग्रणी मानिने यस कम्पनीले आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिसको क्षेत्रलाई नयाँ आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राख्दै इनोभेसन, गुणस्तर र साझेदारीमा निरन्तर लगानी गर्दै आएको छ ।
पद्म ज्योति ग्रुपसँगको यो विस्तारित सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित नभएर यसले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफहरूसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदानप्रदानमा विशेष जोड दिने जनाइएको छ । यस पहलको मुख्य उद्देश्य ‘रिच्स’को विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको सही प्रयोगबारे नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई जानकारी गराउनु हो । यस अभियानलाई सफल बनाउन पद्म ज्योति ग्रुपले आफ्नो मजबुत पूर्वाधार, स्थापित वितरण सञ्जाल र नेपाली बजारको गहिरो बुझाइलाई पूर्णरूपमा उपयोग गर्नेछ । यो सहकार्यले आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रलाई उच्च गुणस्तरका उत्पादनहरू मात्र नभई प्राविधिक मार्गदर्शन, लाइभ डेमोस्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र निरन्तर सहयोगसमेत प्रदान गर्नेछ ।
पद्म ज्योति ग्रुपले सन् २००७ मा ‘सन इन्टरनेसनल इन्कर्पोरेटेड प्रालि’मार्फत एफएमसीजी क्षेत्रमा प्रवेश गरेको थियो । त्यसयता, एसआईआईपीएलले आइसक्रिम र फ्रोजन डेजर्टको क्षेत्रमा आaफूलाई मजबुत गर्दै नेपालभर आफ्नो वितरण सञ्जाल तीव्ररूपमा विस्तार गरिरहेको छ । पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको यो विस्तारित सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिने जनाइएको छ ।