काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : सुरक्षा व्यवस्थापन र सुदृढीकरण’ विषयक अन्तरक्रियामा उनले सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखि तर्जुमा गरिएका सुरक्षा रणनीति एवं कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी कार्य गर्नुपर्ने उनको भनाइ थियो । साथै उनले विगतमा सम्पन्न भएका निर्वाचन सुरक्षाको विश्लेषण गर्दै आसन्न निर्वाचनमा समेत अझ प्रभावकारी सुरक्षा रणनीति अपनाई कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्नुपर्ने बताए । सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । उनले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न छलफलबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए । साथै विगतमा भएका त्रुटी एवं कमी कमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना÷रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जालमार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको उनले बताए ।
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्नसक्ने जोखिम र चुनौतीहरूलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताए । निर्वाचनको सन्दर्भमा नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति प्रशंसनीय रहेको उल्लेख गर्दै उनले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनसमेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताए । कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती/विश्लेषणलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।
आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गरी प्रहरीले आवश्यक सुरक्षा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनको लागि पूर्व तयारीका कार्यहरू अगाडि बढाइरहेको छ । सोही सन्दर्भमा विगतमा सम्पन्न निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरू एवं पूर्व वरिष्ठ प्रहरी अधिकृतहरूसंग छलफल गरेको हो । उनीहरुको अनुभव, व्यवहारिक ज्ञान तथा रणनीतिक सुझावहरूले निर्वाचन सुरक्षाको निम्ति महत्वपूर्ण आधार तय गर्ने प्रहरीले जनाएको छ ।