काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यही फागुन २७ गतेबाट साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले गत फागुन एक गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजीको ३५ दशमलव २६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार आठ सय रुपैयाँको एक सय रूपैयाँ अंकित दरका ४२ लाख ३० हजार छ सय ६८ कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । सोमध्ये स्वीकृत विवरण पत्रमार्फत जारी पुँजीको १० प्रतिशत, अर्थात् १२ करोड रकम बराबरको एक सय रूपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थाई बसोबास गर्ने बासिन्दाहरू (भोजपुर जिल्लाको बासिन्दा)को निमित्त साधारण सेयर निष्कासन गरी बिक्री वितरण गरिने छ । सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् तीन करोड तीन लाख छ हजार सात सय रुपैयाँ बराबरको एक सय रूपैयाँ अंकित दरका तीन लाख तीन हजार ६७ कित्ता सेयर नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि, सार्वजनिक निष्कासन गरिने छ । यस्तै, पाँच प्रतिशत अर्थात् एक करोड ५१ लाख ५३ हजार तीन सय रकम बराबरको एक सय रूपैयाँ अंकित दरका एक लाख ५१ हजार पाँच सय ३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूको लागि र सार्वजनिक निष्कासन गरिने सेयरको दुई प्रतिशत अर्थात् ६० लाख ६१ हजार तीन सय रुपैयाँ बराबरको एक सय रूपैयाँ अंकित दरका ६० हजार छ सय १३ कित्ता सेयर कर्मचारीहरूको लागि सुरक्षितल राखी बाँकी रहेको २५ लाख १५ हजार चार सय ५५ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिने छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी भएको साधारण सेयरको निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि जारी भएको साधारण सेयरको निष्कासन बन्द छिटोमा चैत एक गते र ढिलोमा चैत ११ गते हुनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भोजपुरमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंकको भोजपुर शाखा, प्रभु बैंकको प्याउली शाखा, प्रभु बैंकको हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा र कमलादीमा रहेको प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि २५ लाख १५ हजार चार सय ५५ कित्ता साधारण सेयर जारी गर्दै गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।