काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले साधारण सेयरको बिक्री खुल्ला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई साधारण सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत यही फागुन १२ गते मंगलबारबाट खुल्ला भएको साधारण सेयरको बिक्री कार्य फागुन १५ गतेसम्म कायम रहने छ ।
कम्पनीले जारी पुँजी तीन अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गरेपछि बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन हुन लागेको छ । न्यूनतम १० तथा अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ । अनलाइन प्रणाली मेरो सेयर वा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।