काठमाडौं — सर्वोच्च अदालतले नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलालाई रिहा गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ।न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो।प्रहरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा बास्तोलालाई पक्राउ गरेको थियो। पक्राउपछि शावित्रीकुमारी वलीले उनको हिरासत गैरकानुनी रहेको जिकिर गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सम्बन्धित निकायका पदाधिकारीलाई विपक्षी बनाइएको थियो। अदालतको आदेशसँगै बास्तोलाको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ।