काठमाडौँ/अबुधाबी , इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जना विदेशी नागरिकको मृत्यु भएको छ।यूएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदनअनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिकले ज्यान गुमाएका हुन्। मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन। यूएईका लागि नेपालका राजदूत Tej Bahadur Chhetri ले एक नेपाली नागरिकको मृत्यु भएको सरकारी जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। ‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएका छौं। उहाँको परिचयबारे थप विवरण संकलन गर्दैछौं,’ उनले बताएका छन्। १६५ ब्यालेस्टिक मिसाइल र ५४१ ड्रोन प्रहार रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म यूएईतर्फ १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई वटा क्रुज मिसाइल तथा ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ। यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश प्रहारहरूलाई आकाशमै निष्क्रिय पारेको दाबी गरिएको छ। यद्यपि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए। तीमध्ये २१ वटा ड्रोनले नागरिक बस्ती तथा भौतिक संरचनालाई क्षति पुर्‍याउँदा मानवीय हताहती भएको मन्त्रालयले जनाएको छ। १५ देशका ५८ नागरिक घाइते आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना विदेशी नागरिक सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उपचार जारी रहेको यूएई रक्षा मन्त्रालयले जनाएको छ। यस घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।