काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।
बिहीबार हुन लागेको निर्वाचनको लागि धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा रास्वपाबाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । मतदानको दुई दिनअघि मंगलबार आयोगले साहको उम्मेदवार खारेज गरिदिएपछि रास्वपा उम्मेदवार विहीन बनेको छ । आयोगका अनुसार बैक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पाइएपछि साहको उम्मेदवारी रद्द गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताए । रास्वपाको उम्मेदवारी खारेज भएपछि रास्वपाका समर्थकहरूले अब प्रत्यक्षमा अन्य पार्टीका उम्मेदवार रोज्नुपर्ने भएको छ । उम्मेदवार नभए पनि मतपत्र भने साविककै हुने आयोगले जनाएको छ । मतदाताले प्रत्यक्षतर्फ रास्वपाको चुनाव चिह्नमा मतदान गरेमा उक्त मत बदर हुने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले प्रतिनिधिसभा सदस्य हुन अयोग्य हुने व्यक्तिहरूको सूची (अयोग्यताका आधारहरू) तोकेको छ । दफा १३ को खण्ड (ज) मा प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति सो अवधिभर (कालोसूचीमा परेको अवधिसम्म) उम्मेदवार हुन अयोग्य हुने उल्लेख छ । कर्जा सूचना केन्द्रको रेकर्डअनुसार रास्वपाबाट उम्मेद्वार बनेका साह २०८० वैशाखदेखि कालोसूचीमा छन् । उनीमाथि १ करोड २५ लाख रुपैयाँको चेक बाउन्स र १२ करोड रुपैयाँ बराबरको पुल निर्माण आयोजना सात वर्षदेखि अलपत्र पारेको आरोप पनि लागेको छ । रास्वपाको साहको उम्मेदवारी रद्द भएपछि यो क्षेत्रमा अब नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।