काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अन्य सबै दलहरुलाई पछि पार्दे अत्याधिक मत ल्याएर बिजय हाँसिल गरेपछि यसको सकारात्मक प्रवाह शेयर बजारमा देखिएको छ । चुनाव सम्पन्न भएपश्चात देखिएको नयाँ राजनीतिक कोर्स करेक्सन संगै स्थिर सरकार बन्ने अपेक्षा कै कारण शेयर बजारमा उछाल देखिएको हो । सो अनुसार निर्वाचन पछि पहिलो दिन सोमबार खुलेको शेयर बजारमा एकैदिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समय भन्दै झण्डै तीन घण्टा अघि नैं पुरै दिनको लागि बजार बन्द भएको छ ।
शेयर बजार परिसुचक नेप्से आज एक सय ६२ दशमलव ९३ अर्थात छ प्रतिशतले उकालो लागेर २८ सय ७५ दशमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २८ दशमलव ११ अंकले उकालो लागेर चार सय ९४ दशमलव ४३ बिन्दुमा चढेको छ । बजार खुलेलगत्तै नेप्से परिसुचक चार प्रतिशतले बढ्दा पहिलो सकारात्मक सर्किट लागेको थियो । सो पश्चात २० मिनेटका लागि कारोबार रोकिएको थियो । यसैगरी ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । सो पश्चात नेप्से १२ बजेर एक मिनेटमा खुलेको थियो । खुलेलगत्तै छ प्रतिशतले बढेपछि तेस्रोपटक सकारात्मक सर्किट लागेको थियो । तेस्रो सकारात्मक सर्किट ब्रेकपछि पुरै दिनको लागि शेयर कारोबार बन्द भएको थियो । ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार बजार आज निर्धारित समय भन्दा झण्डै तीन घण्टा अघि नै बन्द भएको हो ।
धितोपत्र बजारमा आज दुई सय ६१ वटा कम्पनीहरुको ४० हजार ५१ पटकको कारोबारमा ११ लाख ४३ हजार सात सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ५५ करोड ५९ लाख ६३ हजार आठ सय ९४ रुपैंयाँ ६६ पैसा कायम भएको छ । आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।