काठमाडौं । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका १८ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार विशेष समारोहबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराएका हुन् ।
गत माघ ११ गते भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । १९ जना सदस्यको पद रिक्त भएको १८ जनाको निर्वाचन भएको हो । एक जना मनोनित सदस्यको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ । गत फागुन २० मा १९ जना सदस्यहरूको कार्यकाल सकिएको थियो । राष्ट्रिय सभाका नेपाली काँग्रेसका ९ जना, नेकपा एमालेका ९ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ जना निर्वाचित भएका छन् । यी दलहरूले निर्वाचनमा तालमेल गरेका थिए । कोशी प्रदेशबाट काँग्रेसका सुनिलबहादुर थापा, एमालेको रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भए । यस्तै मधेश प्रदेशबाट लोसपाका महन्थ ठाकुर, काँग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा एमालेबाट रेखा झा निर्वाचित भएकी थिइन् ।
बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट काँग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री, काँग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए । यसैगरी कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट काँग्रेसका खम्मबहादुर खाती र एमालेका लीला कुमारी भण्डारी निर्वाचित भएका थिए ।
सोमबार नयाँ सदस्यहरूको सपथग्रहण र पदावदी सकिएका सदस्यहरूको बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।