काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको निधन भएको छ । खुसिबुस्थित एक पार्टी प्यालेसमा वैवाहिक समारोहमा अचानक ढलेपछि अस्पताल पुर्याइएका ५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल भाषा मंकाः खलको स्थापनाकालदेखि नै सक्रिय उनी नेपाल भाषालाई मान्यता दिने आन्दोलनका एक अगुवा तथा भाषा आयोगका सदस्य थिए । व्यङ्ग्य लेखन र कविमा सक्रिय मानन्धर नेपाल भाषामा प्रकाशित दैनिक अखबार सन्ध्या टाइम्स र नेपाल भाषा टाइम्सका संस्थापक सम्पादक समेत थिए ।
मानन्धरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बुधबार विजेश्वरीस्थित नेपाल भाषा मंकाः खलको कार्यालयमा राखिने र त्यसपछि नगर परिक्रमापछि अन्त्येष्टि गरिने बताइएको छ ।