विराटनगर । ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिले ऐनविपरीत मालवाहक गाडीबाट भाडा असुली गरेपछि भन्सार एजेन्ट र ट्रान्स नेपालबीच विवाद सुरु भएको छ ।
भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण सम्पन्न भएर वाणिज्य मन्त्रालयको इन्टरमोडल यातायतले विराटनगर भन्सारको आईसीपी भाडामा सञ्चालन गर्ने गरी ठेक्का लगाएको ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिले ऐनविपरीत मालवाहक गाडीबाट भाडा असुली गरेको हो । भारत सरकारबाट करिब एक सय ६० करोड लगानीको आईसीपी बिराटनगर भन्सारमा रहेको ट्रान्स नेपाल एकीकृत जाँच चौकीको विराटनगर कार्यालयले सञ्चालन गर्दै आएको थियो । तर गत फागुन १० गतेदेखी ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि नामको नयाँ कम्पनीले भारतीय व्यापारीको साथमा आईसीपी कब्जा परेपछि अहिले भन्सार विभागले बन्देज गरेको शीर्षकमा समेत पैसा उठाउन थालेको भन्दै विवाद सुरु भएको हो ।
भन्सार एजेन्टले ट्रान्स नेपालले आईसीपीको गोदाममा सामान राखेबापत उद्योगी, व्यापारीसँग दैनिक १० देखि १५ लाखसम्म भाडा असुली गर्ने गरेको आरोप लगाएका छन् । पछिल्लो समय भन्सार विभागले अधिकार नै नदिएको मालबाहक गाडी वजनका नाममा अवैध रकम उठाएको विराटनगर भन्सारका विराटनगर भन्सारका भन्सार एजेन्ट देवकी नन्दन शर्माले बताए । ट्रान्स नेपालका नाममा जथाभावी असुली गर्न थालेपछी कतै भारतीय व्यवसायीबाट आईसीपी नै कब्जाको रणनीति लिएको हैन भन्ने गम्भिर प्रश्न उठेको उनको भनाइ छ । उनका अनुसार यसरी असुल गरिएको रकम मासिक रुपमा तीन अर्बको हाराहारीमा हुने गरेको छ । उक्त रकम विराटनगर भन्सारमा रहेको ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिको खातामा सोझै जम्मा हुने गरेको रहस्य पनि भन्सार एजेन्टहरुले खोलेका छन ।
विराटनगर भन्सारको आईसीपीमा कार्यरत ट्रान्स नेपाल टीआरएस प्रालिका म्यानेजर लक्ष्मी सुब्बाले भने उक्त कुराको खण्डन गरे । उनले भन्सार विभागले शुुल्क नलिन निर्देशन नदिएको दाबी गरे । तर विराटनगर भन्सारको भन्सार एजेन्ट महासंघका अध्यक्ष समेत रहेका शर्माले आईसीपीमा रहेको ट्रान्स नेपाल टीआरएस प्रालिले आईसीपी प्रवेश गर्ने जुनसुकै मालवस्तु भएको गाडीलाई बजनका नाममा प्रतिगाडी तीन सय २३ रुपैयाँका दरले असुली गरेको बताए । उनले भन्सार विभागबाट प्रस्टरुपले काँटा गर्नुपर्दैन भन्दाभन्दै जर्बजस्ती उद्योगी एवं व्यापारीसँग ट्रान्स नेपालले पैसा उठाइरहेको दाबी गरे । शर्माले ट्रान्स नेपालले भन्सार क्लियरिगङको काम गर्दै आएका भन्सार एजेन्टसँग आईसीपी प्रयोग गरेबापत प्रत्येक भन्सार एजेन्टसँग ५ देखि १० हजार रुपैयाँसम्म भाडा भन्दै असुल गर्ने गरेको गुनासो गरे । तर वीरगञ्ज भन्सार र मेची भन्सारमा भन्सार एजेन्टले भन्सार क्लियरिङ गर्न प्रयोग गरेको कार्यालयको पैसा नदिने गरेको बताएका थिए । ट्रान्स नेपाल टीआरएस प्रालि लोजिपार्कको विराटनगर भन्सारमा रहेको आईसीपी सञ्चालन हेर्दै आएका सञ्चालकका प्रतिनिधि रवीकान्त विद्यार्थीलाई टेलिफोन सम्पर्क गरी वास्तविकता बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।