काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित गुरूङ्ग्स गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका–५ घर भएका ३५ वर्षीय विकास विष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्रामसहित सोही नगरपालिका– १२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापाको बाह्रदशी गाउँपालिका–६ पचासबिघेबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ आठ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका–६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुइँटेल रहेका छन् । प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका–१० घर भएका २७ वर्षीय अर्मान अलिलाई अवैध लागुऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल दुई सय ४० ट्याब्लेट र डिकोलिक दुई सय ३५ ट्याब्लेटसहित चार जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ छ सय ५० मिलिग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका–७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन् ।