काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यही फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने अवधि थप भई आगामी चैत १० गतेसम्म कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी चार करोड ७० लाख रुपैयाँ बराबरको चार लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरिएको सेयरमध्ये ५० प्रतिशत अर्थात् दुई लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट हुनेछ । यसैगरी ३० प्रतिशत अर्थात् एक लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूका लागि बाँडफाँट हुने छ भने बाँकी रहेको २० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट हुनेछ ।
कम्पनीका अनुसार उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।