काठमाडौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले शपथ तथा पदभार ग्रहण गरेका छन् ।
विहीवार अध्यक्ष उप्रेतीसंगै नाडाका नवनिर्वाचित कार्यसमितिले शपथग्रहण गरेका हुन् । नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भुमिका खेल्ने बताए । नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाई थियो । यस्तै अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ङ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । साथै, नाडाको केन्द्रीय कार्यसमितिले चाडैँ पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।