मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ।दूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै कतारमा रहेका नेपालीहरूलाई ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो। दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्किन चाहने कतार आइडी भएका नेपाली नागरिकले उक्त प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै आवश्यक तयारीका लागि यो व्यवस्था गरिएको दूतावासले जनाएको छ। स्वदेश फर्कन इच्छुक नेपालीले तोकिएको प्रक्रियाअनुसार भिसा आवेदन दिएर यात्राको तयारी गर्न सक्ने दूतावासको भनाइ छ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा ५०६६०६२२ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।