अमेरिकी सेनाका प्यासिफिक कमान्डका डेपुटी कमान्डिङ जनरल लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेतृत्वको टोली तीन दिने भ्रमणका लागि नेपाल आइपुगेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।आइतबार नेपाल आएको टोली मंगलबारसम्म रहने तालिकामा रहेको छ। भ्रमणका क्रममा औपचारिक भेटघाटका कार्यक्रम तय गरिए पनि को कसलाई भेट्ने भन्ने विवरण सेनाले सार्वजनिक गरेको छैन। भ्रमणको क्रममा टोली पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पनि भ्रमण गर्नेछ। नेपाली सेनाले विश्वास व्यक्त गरेको छ कि यस प्रकारको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनेछ र मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना जस्ता क्षेत्रमा सहयोग पुर्याउनेछ।