काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत माघ ११ गतेदेखि थालेको फेक रेस्क्यु धन्दामाथिको अनुसन्धानको पहिलो चरण सकिएको छ । गत माघ ११ साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित छ जनालाई पक्राउ गरेर अपरेसन थालेको थियो । नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी पक्राउ परेका थिए ।
त्यसलगत्तै सीआईबीले २५ माघमा श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरी अनुसन्धान थालेको थियो । सीआईबीले फागुन १३ गते विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेको थियो । उनले बिचौलियाको काम गरेको समेत सीआईबीको आरोप छ । उनीसँगै रोयल होलिडेज एडभेन्चर्स एन्ड ट्राभल्स कम्पनीका सञ्चालक सन्दिप तिवारीलाई पक्राउ गरेको थियो ।
गत फागुन २७ गते सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १ घर भएका पनारोमा हिमालय ट्रेकिङका सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरेको थियो । पछिल्लो समय ट्रेकिङ व्यवसायीलाई समेत धमाधम पक्राउ गर्न थालेको सीआईबीले थप केही व्यक्ति खोजिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्यटन क्षेत्रमा व्याप्त फेक रेस्क्यु धन्दा गर्नेहरूविरुद्ध जारी राखेको अनुसन्धानको आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ । हाल पक्राउ परेका १० जना र फरार रहेका २३ जनासहित ३३ जनाविरुद्ध १२ सय ४३ पृष्ठको अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।
२०८२ माघ ११ गते दर्ता भएको जाहेरीको आधारमा सीआईबीले पक्राउ परेका अभियुक्त र फरार रहेका अभियुक्तहरूलाई मुलुकी अपराध संहिताको राष्ट्रहित प्रतिकुल कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुर र संगठित अपराधसहितको (एकीकृत कसुर)मा मुद्दा लगाउन सिफारिस गरेको छ । उनीहरूबाट ९४ करोड ८४ लाख, ९७ हजार तीन सय ९१ रुपैयाँ अर्थात् २९ लाख ९८ हजार आठ सय २३ डलर र १४ हजार पाँच सय युरो बिगो कायम गर्न सिफारिस गरेको छ ।
सीआईबी स्रोतका अनुसार फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा १६ वटा ट्रेकिङ तथा ट्राभल्स कम्पनी, पाँचवटा रेस्क्यु कम्पनी, तीनवटा अस्पताल, चारवटा हेलिकोप्टर कम्पनी, तीन जना विदेशी बीमा कम्पनीका नेपाली एजेन्ट र एक जना गाइडलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ । केही प्रतिवादीहरू धेरै कम्पनीमा आबद्ध भएको देखिएको र हाल जम्मा ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।
ट्रेकिङ कम्पनीहरूले पर्यटकलाई बीमा गर्नका लागि अनुकूल कम्पनी छनौट गर्ने, पर्यटकको आइटिनरी तयार गर्ने, गाइडको व्यवस्थापन गर्ने र रेस्क्यु कम्पनीसँग समन्वय गरेर फेक रेस्क्यु धन्दामा संलग्न भएका थिए । उनीहरूले रेस्क्यु कम्पनी र अस्पतालसँग अवैधरूपमा कमिसन लिएर आपारधिक लाभ (किकब्याक स्किम) लिने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।
त्यस्तै गाइडहरूले पर्यटकलाई पदयात्राका लागि गन्तव्यसम्म लैजाने, म्यानुपुलेटेड अरजेन्सी (बाध्य बनाउने) तयार गरी पर्यटकलाई हेलिकोप्टरका लागि मगाउन बाध्य बनाउने र न्यूनतम सावधानी पनि नअपनाई हेलिकोप्टरका लागि कन्भिन्स गर्ने गरेको अनुसन्धानले देखाएको छ । गाइडहरूले हेलिकोप्टरमा फर्कँदा अर्को समूहसँग पदयात्रा जान पाइने र दैनिक ज्याला पनि बच्ने र कमिसन पनि पाइने लोभमा गाइडहरू परेको देखिन्छ ।
रेस्क्यु कम्पनीहरूले रेस्क्यु गर्ने पर्यटको बीमा नीतिको पेपर लिने, पर्यटकहरूलाई हेलिलिफ्ट गरी सम्बन्धित अस्पताल पठाउने, बीमा कम्पनीसँग जिओपी लिने र बीमा दाबी गर्ने भूमिका खेलेका थिए । रेस्क्यु कम्पनीहरूले हेलिकोप्टरको लागेको खर्च कटाई बीमाबापतको रकम केही प्रतिशत ट्रेकिङ कम्पनीलाई दिई बाँकी आपराधिक लाभ अवैध कमिसन लिने गरेको अनुसन्धानमा देखिएको छ ।
हेलिकोप्टर कम्पनीहरूले हेलिलिफ्ट गरी पर्यटकलाई ल्याउने, प्यासेन्जर म्यानिफेस्टमा किर्ते गरी गराई रेस्क्यु कम्पनीलाई पठाउने गरेको खुलेको छ । ती कम्पनीहरूले रेस्क्यु कम्पनीसँग मिलेमतो गरी आफ्नो नियमित फ्लाइटको व्यापार बढाउने काम गरेको अनुसन्धानमा देखिएको छ ।
अस्पतालहरूले भने स्वास्थ्य प्रोटोकलभन्दा बढी बीमा दाबीका लागि बिरामी भर्ना गर्ने, भर्ना गरिएको पर्यटकहरू होटल गई बस्ने वा घुम्न जाने र पछि डिस्चार्ज लिन आउने, नक्कली स्वास्थ्य रिपोर्ट बनाई दाबी गर्ने, बढीबढाई बिल तयार गरी स्वास्थ्य बीमा दाबी लिने, रेस्क्यु कम्पनी र ट्रेकिङ कम्पनीसँग बाँडफाँट गरी लाभ लिने गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ । अस्पतालहरूले स्वास्थ्य बीमा दाबी गरेर आपराधिक लाभ लिएको देखिन्छ । रेस्क्यु कम्पनीहरूले लागत कटाएर ७० प्रतिशत रकम बाँडफाँट गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।
चार रेस्क्यु कम्पनीविरुद्ध मुद्दा चलाउन सिफारिस
सीआईबीले फरार रहेका २३ जनासहित १० जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । एभरेष्ट एक्सपेरियन्स एसिस्ट, माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र हेलि अन कलका सञ्चालक तथा कम्पनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
चार हेलिकोप्टर कम्पनी कुन–कुन ?
त्यस्तै अल्टिच्युड एयर, एयर डाइनेस्टी, माउन्टेन हेलिकोप्टर र बेसक्याम्प हेलिकोप्टर तथा मनाङ एयरविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।
तीन अस्पतालमाथि मुद्दा चलाउन सिफारिस
सीआईबीले लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल, बत्तीसपुतलीस्थित स्वाकन अस्पताल र सोह्रखुट्टेस्थित ईरा अस्पताललाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
२१ भन्दा बढी ट्रेकिङ कम्पनी
फेक रेस्क्युमा संलग्न २१ ट्रेकिङ तथा ट्राभल्सलाई मुद्दा चलाउन सिफारिस भएको छ । मास्टर हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन, डाइनेस्टि एसिस्टेन्स, म्याजिक हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन,स्नो आइस ट्राभल्स एन्ड टुर, नेपाल हाइकिङ एडभेन्चर्स, प्रिसियस ट्रभन्लस एन्ड टुर्स, नेपाल ट्रेक एडभेन्चर्स एन्ड एक्सपिडिसन, रोयल होलिडेज एडभेञ्चर्स प्रालि, स्प्रिच्युअल एक्सकर्सन, फस्ट एसिस्टेन्स नेपाल प्रालि, एक्साइटिङ नेपाल प्रालि, एडभेन्चर्स मास्टर ट्रेक्स एन्ड एक्सपिडिसन, इम्याजिन नेपाल एडभेञ्चर्स, हेलि हब नेपाल प्रालि, पानारोमा हिमालय ट्रकिङ, नेपाल माउन्टेन एसिस्टेन्स प्रालि र आविस्कार ट्रेकिङ कम्पनी र तीनका सञ्चालकविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।
चार बीमा कम्पनीका नेपाली एजेन्टविरुद्ध मुद्दा चलाउन सिफारिस
सीआईबीले फेक रेस्क्यु धन्दामा संलग्न चार विदेशी बीमा कम्पनीका नेपाली एजेन्टलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । जुसमा कुमार भण्डारी, श्याम सुन्दर कँडेल, जयराम तिमिल्सिना र रामकुमार फुयाँलविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) शिव कुमार श्रेष्ठका अनुसार फेक रेस्क्यु धन्दामा संलग्नहरूले नेपाल घुम्न आउने अमेरिकन राहदानीवाहक भुटानी शरणार्थीलाई नेपालमा घुमघाम गराउने र नक्कली उद्दार गरेको समेत पाइएको छ । त्यस्ता कार्यमा संलग्नहरूलाई आपराधिक कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । यो धन्दामा एउटै व्यक्तिको ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी, रेस्क्यु कम्पनी र अस्पताल समेत रहेको पाइएको र उनीहरूलाई मुद्दा चलाउन सिफारिस गरिएको प्रवक्ता श्रेष्ठले बताए ।