काठमाडौं । आगामी चैत २५ गतेदेखी राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमाको दर्ता र नविकरण हुने भएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच सो सम्बन्धी सम्झौता भएको हो । सोमबार भएको सम्झौता अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा अब स्वास्थ्य बीमा सेवा प्रवाह गरिनेछ । बोर्डका सूचना अधिकारी विकेश मल्लले राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए । सम्झौताअनुसार बोर्ड र विभागको तथ्याड्ढलाई एकीकृत गर्ने उनले जानकारी दिए । ‘त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ’, उनले भने ।
स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ । सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याक् एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए ।