काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन आज बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदैछ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तिपछि भने कट लागू हुनेछ । १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् । शनिबार प्रो–एम इभेन्ट हुनेछ । सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङसहित यो कोर्समा कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । प्रोफेसनल खेलाडीहरूलाई एमेच्योर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्नेछन् । माछापुच्छ्रे हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपुर्ण गल्फ कोर्स मानिन्छ । साथै यो कोर्सलाई साहसिक गल्फ कोर्समध्ये एक भनेर गल्फ डाइजेस्टले समेत मान्यता दिएको छ । जहाँ गल्फरहरूको लागि पनि यो कोर्समा उत्कृष्ट प्रदर्शन गर्नु चुनौती हुनेछ । हिमालयन गल्फ कोर्सलाई यो प्रतियोगिताको लागि तयार पारिएको आयोजकले जनाएको छ ।
एनपीजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले लगातार २६औँ वर्ष यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रोफेसनल र एमेच्योर दुवै खेलाडीहरूले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने उनको विश्वास छ ।