विराटनगर । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केही साम्य भएका राजस्व छली गर्ने गिरोह फेरि सक्रिय हुन थालेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सो समूह राजस्व छलीमा फेरि सक्रिय भएको हो । उनीहरूले विराटनगर भन्सारको वैधानिक नाका प्रयोग गर्दै अवैध रूपमा भन्सार छली गर्दै सामान ल्याउने गरेका छन् । उक्त समूहको ट्रकलाई हालै मोरङ प्रहरीले पक्राउ गरी राजस्व अनुुसन्धान कार्यालय सुुनसरीमा बुुझाएको छ । विराटनगर भन्सारबाट कम मूल्यांकन गरी बिल बिजकभन्दा बढी सामान ल्याइए एउटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले राजस्व छलीको ट्रक पक्राउ परेपछि तस्करी समूह पुन सक्रिय भएको मोरङ प्रहरीको विश्लेषण छ । प्रहरीले तस्कर समूहले सामान ल्याउन प्रयोग गरेको भारतीय ट्रकसहितको समानलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुुसन्धान कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार सामान लोड गरिएको ट्रकबाट ५४ लाख ६३ हजार ६ सय १८ रुपैयाँ बराबरका मोटर्स पार्टस् र सोफा सेटका सामान बरामद गरिएको थियो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ जीबी ७६४३ नम्बरको ट्रकबाट उक्त सामान प्रहरीले नियन्त्रण लिएको उनले जानकारी दिए । चेकजाँचका क्रममा उक्त ट्रकमा भन्सार मूल्यांकनभन्दा दोब्बर सामान फेला परेको थियो । ट्रक नियन्त्रणमा लिएपछि प्रहरीले ट्रकको जाँच गर्ने क्रममा बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी सामान रहेको र कम मूल्यांकन गरेर ल्याइएको देखिएको प्रहरी प्रवक्ता लामिछानेले जानकारी दिए । बरामद सामानसहितको ट्रकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उनको भनाइ छ ।
प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरीमा गाडीसहित सामान बुझाएको भएतापनि राजस्व अनुसन्धान विभागको निर्देशन नआएपछि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाउन नसकिएको राजस्व अनुसन्धान कार्यालय सुनसरीले जनाएको छ । उक्त ट्रकसहितको सामान आउनुभन्दा अगाडि नै पक्राउ परेका ट्याक्टरसहितका सामग्रीको समेत अनुसन्धान नभएको पाइएको छ । राजस्व अनुसन्धान विभागसँग अनुमति माग्दासमेत विभागले अनुमति नदिएका कारण राजस्व कार्यालय सुनसरीमा त्यसै थन्किएकर बसेको राजश्व स्रोतले बताएको छ ।