काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) को बिक्री आहृवान गरेको छ । कम्पनीले यही चैत्र आठ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमध्ये १८ लाख ५२ हजार पाँच सय कित्ता सेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाअन्तर्गतका बुंगल नगरपालिका वडा नं. १,२ र ४ का बासिन्दाहरुमा बाँडफाँट गरिने र बाँकी रहेको नौ लाख ९७ हजार पाँच सय कित्ता सेयर बुंगल नगरपालिकाको वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने पाँच करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका पाँच लाख ७० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।