काठमाडौं । अतिकम विकसितबाट विकासोन्मुखमा नेपालको स्तरोन्नति हुँदा नेपालले धेरै रोजगारी कटौती र व्यापक आर्थिक प्रभावको सामना गर्नुपर्ने चेतावनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले दिएको छ । सो स्तरोन्नति (एलडीसी ग्रेजुएसन)ले नेपालमा रोजगारी अभावको समस्या झन् चर्किन सक्ने आईएलओको अध्ययनले देखाएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आगामी नोभेम्बरमा नेपाल कम विकसिन देशबाट विकासोन्मुख देशमा स्तोरन्नति हुँदा रोजगारी कटौतीदेखि व्यापक आर्थिक प्रभावहरु देखिन सक्ने चेतावनी दिएको छ । आईएलओले खासगरी एलडीसी ग्राजुएसनसँगै नेपालको उत्पादनमूलक क्षेत्रमा नराम्रो प्रभाव पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
‘यद्यपि नेपालले उच्च यातायात लागत, सीमित पुँजी र चुनौतीपूर्ण भूगोलजस्ता संरचनागत जटिलताका बाबजुद रोजगारी विस्तारमा प्रगति गरिरहेको छ, तथापि यसको उत्पादन क्षेत्र जोखिमकै अवस्थामा छ’, आईएलओले भनेको छ । यस्तो अवस्थामा हुने पदोन्नतिले नयाँ रोजगारी सिर्जना र भएको रोजगारी संरक्षणमा दबाब पर्न सक्ने आईएलओको चिन्ता छ। यसका लागि सुबोध्य नीतिगत प्रतिक्रिया आवश्यक पर्ने आईएलओको भनाइ छ । रोजगारी प्रभाव अध्ययनले जोखिमका क्षेत्रहरुको परीक्षण, सम्भावित रोजगारी कटौती र सिर्जनाको अनुमान तथा जोखिम समूहमा पर्ने असरको विश्लेषण गर्छ । ग्राजुएसनको सन्दर्भमा यसले व्यापार व्यवसाय र रोजगारीबीचको सम्बन्ध पत्ता लगाई बढी माग हुने क्षेत्रको पनि अध्ययन गर्ने आईएलओले जनाएको छ ।