काठमाडौं । माउन्टेन ड्युको पिक्स अफ करेज अभियानले एसिया–प्रशान्त क्षेत्रमा चारवटा प्रतिष्ठित अवार्ड जितेको छ ।
कम्पनीले स्पाइक्स एसियामा ग्रान्ड प्रिक्स एक, सिल्भर एक र ब्रोन्ज दुईसहित कुल चार अवार्ड जित्दै नेपालका लागि ऐतिहासिक सफलता हासिल गरेको छ । यस अभियानले माउन्टेन एभरेष्टभन्दा बाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने लक्ष्य राखेको थियो । अभियानमार्फत कम चर्चामा रहेका हिमालहरू तथा तिनसँग सम्बन्धित साहसका प्रेरणादायी कथाहरूलाई विश्वव्यापी दर्शकसमक्ष प्रस्तुत गरिएको थियो । कथावाचन, डिजिटल संलग्नता र इमर्सिभ ब्रान्ड अनुभवको संयोजनमार्फत तयार गरिएको अभियानले नेपालको हिमाली पहिचानलाई नयाँ ढङ्गले प्रस्तुत गरेको कम्पनीले जनाएको छ । अभियानले साहस, अन्वेषण र स्थानीय संस्कृति समेटिएको सन्देशलाई विश्व बजारमा प्रभावकारी रूपमा पुर्याएको थियो ।
यस अभियानको नेपालमा कार्यान्वयनमा ‘लोकल एक्टिभेसन पार्टनर’का रूपमा डिजिटलीनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । अभियानलाई स्थानीय स्तरमा प्रभावकारी बनाउँदै दर्शकहरूसँग व्यापक संलग्नता सिर्जना गर्न कम्पनीले समन्वय र कार्यान्वयनमा सहयोग गरेको थियो । साथै शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग सहकार्य गर्दै अभियानलाई थप प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाइएको जनाइएको छ । कम्पनीले एक्टिभेसनमा ग्रान्ड प्रिक्स, इनोभेसनमा सिल्भर र क्रिएटिभ डेटा र ब्रान्ड एक्सपिरियन्समा ब्रोन्ज अवार्ड पाएको हो ।