काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अस्थिर सरकारका कारण निजी क्षेत्रले अपेक्षा अनुरूप काम गर्न नसकेको बताएका छन् ।
नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनमा उनले अब स्थायी सरकार गठन हुन लागेकोले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले झण्डै दुईतिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व गठन हुने स्थायी सरकारले निजी क्षेत्रका समस्याहरू समाधान गर्दै मनोबल उच्च बनाउने बताए । देशलाई आर्थिक समृद्धितर्फ अघि लैजाने अवसरको सदुपयोग हुनेमा निजी क्षेत्र आशावादी र उत्साही रहेको उनको भनाइ छ । अध्यक्ष अग्रवालले रास्वपाको वाचापत्रमा उल्लेख गरिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलगायतका प्रतिबद्धताप्रति आफू उत्साहित रहेको पनि बताए । हाल नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर अवस्थामा पुगेको उनले बताए । आर्थिक वर्ष २०८१/८२ मा ४ दशमलव ४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भएपनि कोभिड(१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण अवस्था बिग्रिएको उनको भनाइ छ ।
उनले भने, ‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर भएर गएको छ । अर्थतन्त्र शिथिल छ । आर्थिक वर्ष २०८१/८२ मा ४.४ प्रतिशत वृद्धिदरको प्रक्षेपण गरिएको थियो । तर कोभिड–१९ को प्रभाव र त्यसपछिको व्यवस्थापनको अभावका कारण भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’ हुन पुग्यो ।’ आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताए । यसले समग्र औद्योगिक तथा व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको उनको भनाई छ । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उनले बताए । अध्यक्ष अग्रवालले नेपाल अपार प्राकृतिक स्रोतले सम्पन्न देश भएपनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्वको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न नसकिएको बताए । साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको उनको भनाइ छ ।
‘अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक र आर्थिक नीतिको स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न सकेनौं । हाम्रो युवा जनशक्तिलाई रोजगारी सिर्जना गर्नसमेत सकिएको छैन’, उनले भने । उनका अनुसार दैनिक २ हजार ५ सय भन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य छन् । अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देश विकासका आधारस्तम्भ भएको उल्लेख गरे । उनले भने, ‘जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार निवारण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरू विकासका पहिलो खुड्किला हुन् । सुशासन युवाहरूको भविष्यप्रतिको भरोसा हो । विदेशमा हासिल गरेको अनुभवलाई देशमै प्रयोग गर्न आवश्यक छ ।’
अध्यक्ष अग्रवालले आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । उनले भने, ‘जेनजी आन्दोलनपछि देश संवेदनशील मोडमा पुगेको थियो । तर हालैको निर्वाचन परिणामले ठूलो आशा जगाएको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षा प्रत्याभूति दिनुपर्छ ।’ कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अधिवेशनले व्यवसायीहरूबीच सहकार्य, अनुभव आदानप्रदान तथा नीतिगत बहसलाई सुदृढ बनाएको बताए ।