काठमाडौं । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को प्रि–इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् । शुक्रबार ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि–इभेन्ट चरण पूरा भएको हो ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो । सर्ट फिल्म हरेपछि दर्शकले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मेकरहरूले दिएका थिए । यसअघि निफले प्रि–इभेन्ट अन्तर्गत रहेर ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताए । उनले भने, ‘प्रि–इभेन्ट सफलतापूर्वक सम्पन्न भयो । अब १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ । लगभग सबै तयारी भइसक्यो । केही दिनमा निफको आधिकारिक सामाजिक सञ्जाल पेज र वेबसाइटमा निफमा हुने कार्यक्रमहरू सार्वजिनक हुनेछ ।’
यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसव पनि समावेश गरिएको छ । उनले भने, ‘प्रि–पोडक्सन, पोडक्सन र पोस्ट प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा उजागर गर्न पाँच दिने वर्कसप हुन्छ । फिल्म निर्माणमा उच्चतम् एआईको प्रयोग गर्न सकिने विषयमा यो वर्कसप केन्द्रित हुन्छ । एआईको भविष्यबारे पनि त्यहाँ छलफल हुन्छ ।’ यस्तै, निर्माताको खोजीमा रहेका लेखकहरूलाई मध्यनजर गरी निफले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश गरेको छ । जहाँ सर्ट बनाएको अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातालाई सुनाउने अवसर पाउनेछन् । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रमहरू गरिनेछ ।
यी कार्यक्रमहरूबारेको जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको
छ ।